अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनाभन्दा बढी समययताकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी डलर कमजोर बनेसँगै सुनको मूल्यमा तीव्र वृद्धि भएको हो।

पछिल्लो कारोबारमा स्पट सुनको मूल्य १.९९ प्रतिशत अर्थात् ८९ डलरले बढेर प्रतिऔंस ४ हजार ६०३ डलर पुगेको छ। कारोबारका क्रममा सुनको मूल्य ४ हजार ६३१.९९ डलरसम्म पुगेको थियो, जुन मे १५ यताकै उच्च विन्दु हो। पछिल्लो एक सातामा मात्रै सुनको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। गत बुधबार सुनको मूल्यमा फेब्रुअरीको सुरुवातयताकै सबैभन्दा ठूलो एकदिने वृद्धि देखिएको थियो। सुनको मूल्यले प्राविधिक रूपमा पनि महत्वपूर्ण तह पार गरेको छ। मूल्य २०० दिनको औसत चलायमान दर करिब ४ हजार ५१३ डलरभन्दा माथि पुगेको छ। प्राविधिक विश्लेषकहरूका अनुसार उक्त स्तरभन्दा माथि कारोबार हुनु बजारमा थप तेजीको संकेतका रूपमा लिइन्छ।सुनको मूल्य वृद्धिमा प्राविधिक पक्षसँगै अमेरिकी डलरको कमजोरीले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। हालको गति कायम रहे सुनको मूल्य प्रतिऔंस ४ हजार ७०० डलरको स्तरतर्फ अघि बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ।अमेरिकी डलर मे महिनाको मध्ययताकै न्यून स्तरनजिक पुगेको छ। अमेरिकी ट्रेजरी विभागले बन्ड बजारलाई स्थिर बनाउन अघि सारेका कदमले अमेरिकी मुद्राप्रतिको विश्वासमा असर पार्न सक्ने आशंकाबीच डलर कमजोर बनेको हो।यद्यपि, सुनको मूल्यमा आएको तीव्र वृद्धिले भारतका खुद्रा उपभोक्ताको मागमा भने केही कमी आएको छ। विश्वको प्रमुख सुन उपभोक्ता चीनमा भने भौतिक सुनको माग स्थिर रहेको बताइएको छ। पोल्यान्डको केन्द्रीय बैंकले पनि जुलाईमा सुन खरिद घटाएर ७.८ मेट्रिक टनमा सीमित गरेको तथ्यांकले देखाएको छ।

यसैबीच, अन्य बहुमूल्य धातुको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य १.३९ प्रतिशतले बढेर प्रतिऔंस ६८.९८ डलर पुगेको छ।

तपाईको प्रतिक्रिया