अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाका कामको स्थलगत अनुगमन गर्दै सरकारले आवश्यक स्रोत र साधनको अभाव हुन नदिने बताएका छन्। शनिबार नुवाकोटको विदुर पुगेका मन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरी उद्धार तथा राहत वितरणका गतिविधिबारे जानकारी लिएका थिए। सो क्रममा उनले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारको पूर्ण साथ रहने भन्दै आवश्यक सहयोगका लागि निर्धक्क भएर जानकारी गराउन आग्रह गरे।

उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले हराइरहेका व्यक्तिको खोजी तथा जीवित उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई विशेष प्राथमिकता दिइएको तथा विस्थापितका लागि खाद्यान्न, अस्थायी आवास र राहत वितरणको कामसमेत जारी रहेको उनले बताए। बाढीग्रस्त क्षेत्रमा तत्काल बेलिब्रिज निर्माणको आवश्यकता रहेको पनि उनले औँल्याए।

अर्थमन्त्री वाग्लेले गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन एवं वितरण केन्द्रको समेत निरीक्षण गरे। उनले आफन्तको खोजीमा उद्धार केन्द्र पुगेका पीडित परिवारसँग भेटघाट गरी उनीहरूको गुनासो र माग सुने। नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा आफ्ना परिवारका सदस्य फसेको भन्दै परिवारजनले उद्धारलाई तीव्र बनाउन आग्रह गरेका थिए। जवाफमा मन्त्री वाग्लेले सुरुङमा फसेकाको उद्धार उच्च प्राथमिकतामा रहेको र नेपाली सेना तथा सुरक्षा निकाय निरन्तर उद्धारमा खटिएको भन्दै धैर्य गर्न आग्रह गरे।

त्यसपछि उनले बाढीले क्षति पुर्‍याएको ढुङ्गे बजार, ऐतिहासिक देवीघाट बजार तथा गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट–जिलिङ जोड्ने क्षतिग्रस्त पुल क्षेत्रको निरीक्षण गरे। प्रभावित स्थानीयसँग भेट्दै उनले सरकार राहत, उपचार, खोजी तथा पुनर्स्थापनाका काममा प्रतिबद्ध रहेको बताए। तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा सञ्चालन गरिएको होल्डिङ सेन्टरको निरीक्षणका क्रममा उनले उद्धार गरिएका स्थानीयको स्वास्थ्य अवस्था तथा आवश्यकताबारे समेत जानकारी लिए।

जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधि तथा राजनीतिक दलका नेतासँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोतको अभाव हुन नदिने स्पष्ट पारे। उनले सबै निकायलाई एकजुट भएर विपद्पछिको प्रतिकार्यमा जुट्न आग्रह गरे। दिनभरको स्थलगत निरीक्षणपछि उनले नेपाली सेनाको विदुर कमाण्ड सेन्टरमा भएको सुरक्षा ब्रिफिङमा सहभागिता जनाएका थिए। ब्रिफिङमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार, शव सङ्कलन तथा राहत वितरणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिइएको थियो।

तपाईको प्रतिक्रिया