नजिकिँदै गरेको बडादशैँ तथा अन्य चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटीएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा हुने भीड कम गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा शाहका अनुसार एटीएममार्फत सय रुपैयाँका नोट उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सम्बन्धित संस्थालाई भनिएको हो। हाल अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निस्कने गरेका छन्। दशैँका बेला दक्षिणा तथा दैनिक कारोबारका लागि साना दरका नोटको माग बढ्ने भएकाले ग्राहक बैंकको काउन्टरमा पुग्नुपर्ने र लामो लाइन लाग्नुपर्ने अवस्था रहँदै आएको छ।
नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा ग्राहकले एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सक्नेछन्, जसले बैंकका काउन्टरमा हुने भीड घटाउनुका साथै सर्वसाधारणलाई साना दरका नोट प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

Online Arthik









