अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशत अर्थात् २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत अर्थात् १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअनुसार कम्पनीले सेयरधनीलाई कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ। कम्पनीले साधारणसभा असोज २७ गते बोलाएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया