लामो समयदेखि रिक्त रहेका नेपाली नियोगमा राजदूत नियुक्त गर्ने प्रक्रिया सरकारले तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयले खुला आवेदनबाट प्राप्त उम्मेदवारको सूचीमाथि छलफल गर्दै महत्वपूर्ण मुलुकका लागि राजदूत सिफारिसको तयारी अघि बढाएको हो।

अमेरिका, चीन, भारत, जापान, बेलायत, दक्षिण कोरिया, मलेसिया, साउदी अरेबिया र रुसलगायत मुलुकलाई पहिलो चरणमा प्राथमिकतामा राख्ने तयारी छ। मन्त्रालयले उम्मेदवारको योग्यता, अनुभव, कूटनीतिक क्षमता र सम्बन्धित मुलुकमा नेपालको हितलाई आधार बनाएर नाम छनोट गर्नेछ।

सबै नियोगमा एकैपटक नियुक्ति सम्भव नभए दुई वा तीन चरणमा राजदूत नियुक्त गर्ने विकल्पसमेत सरकारसँग रहेको बताइएको छ। लामो समय राजदूत रिक्त हुँदा धेरै नेपाली दूतावास कार्यवाहकको भरमा सञ्चालन भइरहेकाले नियुक्ति प्रक्रिया छिटो टुङ्ग्याउन लागिएको हो।

तपाईको प्रतिक्रिया