भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम ४२ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभा भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित होटल पौवामा बिहान ११ः३० बजे बस्नेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव छन्।

त्यस्तै, कम्पनीको जारी पुँजी ४२ करोडबाट बढाएर ७५ करोड रुपैयाँ पुर्‍याउने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।

तपाईको प्रतिक्रिया