सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको ४८२औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
बैंकका अनुसार १० प्रतिशत बोनस सेयरबापत १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ र कर प्रयोजनसहित सोही बराबरको रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव गरिएको छ। यसरी साधारण सेयरधनीलाई कुल २ अर्ब ९५ करोड ८८ लाख ९५ हजार ८४० रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ। हाल बैंकको साधारण सेयरतर्फ चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९४ रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि उक्त पुँजी बढेर करिब १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।यसैगरी, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसअन्तर्गत १० करोड ७५ लाख ५९ हजार ४१ रुपैयाँ वितरण गरिनेछ। अग्राधिकार सेयरतर्फ बैंकको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।

Online Arthik










