काठमाडौंमा आगामी माघ ३, ४ र ५ गते पाँचौं संस्करणको हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुने एक्स्पोलाई इप्पानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष माघ ३ देखि ५ गतेसम्म सञ्चालन हुने वार्षिक ऊर्जा कार्यक्रमका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। नेपाल सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा नेपालको ऊर्जा क्षेत्र पनि जलविद्युतसँगै सौर्य, वायु, बायोग्यास, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, डिजिटल ऊर्जा तथा कृत्रिम बौद्धिकतासहितको एकीकृत स्वच्छ ऊर्जा प्रणालीतर्फ अघि बढिरहेको छ।तीन दिनसम्म चल्ने एक्स्पोमा बीटुबी व्यापारिक भेटघाट, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी कलेज हब, प्रत्यक्ष प्रविधि प्रदर्शन, हाइड्रो–कन शो, विद्युतीय सवारी र्‍याली तथा गाला नेटवर्किङ डिनरलगायत कार्यक्रम हुनेछन्।प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री, ट्रान्सफर्मर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि र स्मार्ट ऊर्जा समाधान प्रदर्शन गरिनेछ। विद्यार्थी तथा नवप्रवर्तकका नयाँ अवधारणा र उत्पादनको प्रतिस्पर्धासमेत आयोजना गरिने आयोजकले जनाएको छ।एक्स्पोमा भारत, चीन, क्यानाडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, इटाली, बेलायत र ब्राजिललगायत देशका कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, नीति निर्माता, प्रविधि उत्पादक तथा ऊर्जा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

१०० भन्दा बढी प्रदर्शनी स्टल रहने एक्स्पोमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार एक्स्पोका लागि सहभागिता तथा स्टल बुकिङ खुला भइसकेको छ।

तपाईको प्रतिक्रिया