सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ११ वर्षे विकास ऋणपत्र २०९४ निष्कासन गर्ने भएको छ। कार्यालयले सूचना जारी गर्दै बिहीबार उक्त ऋणपत्र निष्कासन गर्न लागेको जनाएको हो।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले समेत यसमा सहभागी भएर ऋणपत्र खरिद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले असोज ७ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ। ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी २०९४ असोज ८ गते हुने तथा ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने कार्यालयले जनाएको छ।कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको छ।प्रतिस्पर्धी बोलवालाले आफूले खरिद गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। बोलकबोलबाट प्राप्त ब्याजदरलाई न्यूनदेखि उच्च क्रममा राखी निर्धारित रकमसम्म कायम हुने दरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। त्यसपछि सोही दरमा योग्य बोलवालालाई ऋणपत्र बिक्री गरिनेछ।ऋणपत्र खरिदका लागि न्यूनतम ५० हजार रुपैयाँ तोकिएको छ। अधिकतम खरिद सीमा कुल निष्कासन रकमको सीमाभित्र रहनेछ र रकम ५० हजारले निःशेष भाग जाने हुनुपर्नेछ।
व्यक्ति तथा संस्थाले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीमध्ये कुनै एक प्रकारको बोलवालाका रूपमा मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भने अप्रतिस्पर्धी बोलवालाका रूपमा सहभागी हुन नपाउने कार्यालयले स्पष्ट पारेको छ।

Online Arthik










