दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै सरकारले अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा यस्तो व्यवस्था गरिएको हो। तर अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने तोकिएको छैन।
विभागले यातायात व्यवसायीलाई सम्भव भएसम्म अनलाइन टिकट बुकिङको व्यवस्था गर्न तथा यात्रुको परिचय खुल्ने विवरणसहित मात्र सवारी सञ्चालन गर्न निर्देशन दिएको छ। अनधिकृत काउन्टर र परिचयपत्रविहीन व्यक्तिबाट टिकट बिक्रीमा समेत रोक लगाउन भनिएको छ। चाडपर्वका बेला मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, मर्मत–सम्भार र ट्राफिक व्यवस्थापनमा जोड दिइएको छ। आवश्यक अतिरिक्त सवारीसाधनको व्यवस्था व्यवसायीले गर्नुपर्ने तथा लामो दूरीका सवारीमा कम्तीमा दुई चालक राख्नुपर्ने विभागले जनाएको छ।
त्यस्तै, चालकको मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षण अनिवार्य गर्न, लामो दूरीका सवारीको प्रस्थानअघि यान्त्रिक परीक्षण गर्न र १८ वर्ष नपुगेका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन निर्देशन दिइएको छ।

Online Arthik










