काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि चार्ज गर्ने तयारी गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यकामा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ। यसबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति तथा भोल्टेजको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।
यसैगरी, चोभारदेखि पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण निर्माण प्रभावित हुँदा काठमाडौं उपत्यकामा १३२ केभी प्रसारण प्रणालीको पूर्ण रिङ संरचना निर्माण हुन सकेको छैन। उक्त आयोजना आर्थिक वर्ष २०५५/५६ देखि सुरु गरिएको हो।

Online Arthik










