दसैं तथा तिहारमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै असोज २३ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ। यातायात मन्त्रालय, विभाग, व्यवसायी तथा सम्बन्धित सरोकारवालाबीचको बैठकले यस्तो निर्णय गरेको हो।
चाडपर्वको समयमा यात्रुलाई सहज आवतजावतको व्यवस्था मिलाउन देशभरका सवारीसाधनलाई आवश्यकताअनुसार जुनसुकै रुटमा सञ्चालन गर्न पाउने गरी रुट परमिटमा छुटसमेत दिइनेछ। यसले दसैं–तिहारमा घर फर्किने यात्रुलाई थप सहजता हुने अपेक्षा गरिएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा सवारी चाप र जाम नियन्त्रण गर्न अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ठूला सवारीसाधनको आवतजावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन तथा दूध बोकेका सवारीसाधनलाई भने प्रतिबन्धबाट छुट दिइनेछ।

Online Arthik










