फ्रान्समा विद्यालयमा पर्याप्त स्रोतसाधन, आधारभूत सुविधा र जनशक्ति उपलब्ध गराउनुपर्ने मागसहित सुरु भएको विद्यार्थी आन्दोलन तीव्र बन्दै गएको छ। पेरिस क्षेत्रबाट सुरु भएको प्रदर्शन विभिन्न सहरमा फैलिएपछि सयौं उच्च माध्यमिक विद्यालय प्रभावित भएका छन्।
आन्दोलनका क्रममा केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् भने प्रहरी र प्रदर्शनकारीबीचको झडपमा दुवैतर्फका मानिस घाइते भएका छन्। प्रहरी कारबाही अत्यधिक कठोर भएको भन्दै विद्यार्थी संगठन र अधिकारकर्मीले सरकारको आलोचना गरेका छन्। गृहमन्त्री लरेन्ट नुनेजका अनुसार हालसम्म ६ हजार १०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने ७१५ प्रहरी अधिकारी घाइते भएका छन्। प्रहरीले भने अधिकांश घटनामा परिस्थितिअनुसार प्रतिक्रिया दिएको दाबी गरेको छ।विद्यालयमा डेस्क–बेन्च, वातानुकूलन, शिक्षक तथा कर्मचारीको अभाव र विद्यालयबीच रहेको स्रोतसाधनको असमानतालाई विद्यार्थीले आन्दोलनको मुख्य कारण बताएका छन्। उनीहरूले सबै विद्यालयमा समान आधारभूत सुविधा र सुरक्षित अध्ययन वातावरणको माग गरेका छन्।
विद्यार्थीको आन्दोलनमा मजदुर युनियनहरूले समेत समर्थन जनाएपछि यो विषय सार्वजनिक शिक्षा प्रणालीमा रहेको असमानता र सरकारको प्राथमिकतामाथिको बहसका रूपमा विस्तार भएको छ। आन्दोलन जारी रहँदा राष्ट्रपति इम्यानुएल म्याक्रोन नेतृत्वको सरकारमाथि विद्यार्थीका माग सम्बोधन गर्न दबाब बढेको छ।

Online Arthik










