रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको कम्पनीले गत चैत २३ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेका कारण स्थानीयका लागि आवेदन दिने म्याद वैशाख २४ गतेसम्म लम्ब्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ भर्ने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि जारी आईपीओमा भने आवेदन दिन म्याद थप गरिएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५६ लाख रुपैयाँबराबरको अर्थात् १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ता विदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।
यसैगरी कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँबराबरको १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको छ। यसमा खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २ हजार ८०० कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले आयोजनास्थल, सेन्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। उनीहरुले प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

Online Arthik










