साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.०५ प्रतिशत कम हो। अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको नाफा ६ करोड ३२ लाख रुपैयाँ थियो।

कम्पनीको बिक्री आम्दानी ८.५१ प्रतिशतले घट्दै ९९ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ। साथै, ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य आम्दानी पनि गरेको छ।

खर्चतर्फ कम्पनीले कर्मचारी खर्चमा ३३ करोड ३० लाख, ब्याज खर्चमा ४१ करोड ४७ लाख, ह्रासकट्टीमा १ करोड २१ लाख र प्रशासनिक खर्चमा १७ करोड ८२ लाख रुपैयाँ व्यय गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चालु सम्पत्ति ५ अर्ब ३७ करोड र कुल चालु दायित्व ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ।

प्रमुख वित्तीय सूचकांकअनुसार, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४१६.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति २,३८१.४१ रुपैयाँ र मूल्य–आम्दानी अनुपात  २७३.९८ गुणा रहेको छ।

 

तपाईको प्रतिक्रिया