उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको बताएका छन् । आइतबार ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।
अर्थमन्त्री पौडेलले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रका सम्पूर्ण सूचकहरू नकारात्मक रहेको स्मरण गर्दै अहिले सबै सूचकमा सकारात्मक परिवर्तन आएको दाबी गरे । उनले भने, ‘हिजो हामीले सरकार सम्हाल्दा अर्थतन्त्रका सूचकहरू नकारात्मक थिए, अहिले सकारात्मक मोडतर्फ उन्मुख भएका छन् ।’
कार्यक्रममा उनले भ्याट छुट दिनसक्ने अवस्थामा सरकार नरहेको उल्लेख गर्दै राजस्व संकलन नै साधारण खर्च धान्न मुस्किल भएको बताए । ‘अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्द्धनका कार्यक्रम ल्याउनुहोस्, सरकारले सहजीकरण गर्न तयार छ,’ उनले भने ।
मुलुक स्थिरताको बाटोमा अघि बढिरहेको दाबी गर्दै पौडेलले अहिलेको सरकार बलियो र स्थिर रहेको र २०८४ को निर्वाचनसम्म निरन्तरता पाउने बताए । उनले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको पनि बताए ।
कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे । सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पुर्याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।

Online Arthik










