सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २१ गते (मंगलबार) एक दिनका लागि बुकक्लोज गर्ने भएको हो।
नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर समायोजन गर्दै समायोजित शेयरमूल्य रु. ८२५.३५ कायम गरेको छ। दशैँ अघिको अन्तिम कारोबार मूल्य रु. ९४०.९० लाई आधार मानेर यो मूल्य समायोजन गरिएको हो। समायोजनपश्चात यही मूल्यलाई आधार मानेर मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ।
कम्पनीले कात्तिक २ गते, आइतबार, पोखरास्थित आव्या क्लब, घारीपाटनमा बिहान ११ बजेबाट आफ्नो २५औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यससँगै, सभाले कम्पनीको जारी पूँजी वृद्धि, प्रबन्धपत्र संशोधन, सञ्चालक समितिको पुनर्गठन तथा सदस्य संख्या परिवर्तन, र लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गर्ने कार्यसूची तय गरेको छ।

Online Arthik










