ग्लोबल इक्विटी फन्डद्वारा सञ्चालित विशिष्टीकृत लगानी कोष नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ ले फिनटेक कम्पनी जुनोमा रणनीतिक लगानी गरेको घोषणा गरेको छ। जुनो नेपाली फिनटेक क्षेत्रमा विकास भएको पछिल्लो इनोभेसन हो, जसले अन्तरदेशीय बैंकिङ तथा भुक्तानी प्रणालीलाई सरल र सहज बनाउने लक्ष्य राखेको छ। ‘Banking Beyond Borders’ सामाजिक तथा वित्तीय मिशनमा आधारित जुनो, अमेरिकी नियामक अनुमतिसहित सञ्चालनमा रहेको फिनटेक प्लेटफर्म हो, जसले विश्वकै सबैभन्दा किफायती र निर्वाध अन्तरदेशीय मुद्रा आवगमनको माध्यम निर्माण गर्ने लक्ष्य लिएको छ।
फिनटेक कम्पनी जुनोको स्थापना सीमापार कारोबारमा अनुभवी सूचना प्रविधि उद्यामी बालकृष्ण जोशीको नेतृत्वमा गरिएको हो। जुनोलाई विश्वव्यापी सीमाविहीन अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको पहिलो समावेशी बहुपक्षीय फिनटेक प्लेटफर्मका रूपमा हेरिने गरिएको छ।
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाले यस लगानीलाई नेपाललाई फिनटेक क्षेत्रमा विश्वमै परिचित गराउने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरे।
“यो केवल लगानी मात्र होइन, नेपाललाई विश्वव्यापी फिनटेक नक्सामा स्थापित गर्ने दृष्टिकोणको महत्वपूर्ण चरण हो,” उनले भने।
जुनोका संस्थापक जोशीले ग्लोबल इक्विटी फन्डलाई रणनीतिक साझेदारका रूपमा पाउँदा खुशी व्यक्त गर्दै भने,
“यो लगानी विश्वव्यापी वित्तीय समावेशीकरण र आर्थिक समानता अगाडि बढाउने हाम्रो मिसनप्रति एक बलियो समर्थन हो। नेपालले सीमारहित बैंकिङ तथा अन्तरदेशीय भुक्तानीमा दक्षिण एसियाभर नेतृत्व लिन सक्छ।”
ग्लोबल इक्विटी फन्डको फिनटेक क्षेत्रमा यो दोस्रो रणनीतिक लगानी हो। यसअघि फन्डले नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेमा लगानी गरी डिजिटल भुक्तानीमा नवप्रवर्तनलाई मजबुत पारेको थियो। फोनपे प्रणालीले विभिन्न डिजिटल वालेट, बैंक, व्यापारी र उपभोक्ताबीच अन्तरसञ्चालन सेवा उपलब्ध गराउँछ।

Online Arthik










