भुजुङ हाईड्रोपावर लिमिटेडले आगामी पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरका रु. १०० अंकित दरका २० लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति पाएको थियो। जारी पूँजीको १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजनास्थल लमजुङको क्व्होलासोथार गाउँपालिकाका बासिन्दाका लागि छुट्याइएको छ, जसमा वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६ लाख कित्ता र वडा नं. १, २, ३, ५, ६, ७, ८ अप्रत्यक्ष प्रभावित क्षेत्रका लागि ४ लाख कित्ता सेयर निष्कासन गरिनेछ। यस्तै जारी पूँजीको अर्को १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। दुवै समूहले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारी समूहका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाले कुमारी, सानिमा, प्रभु र माछापुच्छ्रे बैंकका बेशीशहर शाखाहरू, क्व्होलासोथार–४ गाउँपालिका कार्यालय तथा कम्पनीको काठमाडौं कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डले स्वीकृत गरेका सबै ASBA बैंक तथा वित्तीय संस्था र उनीहरूका शाखाबाट तथा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहँदै, पहिलो चरणका प्रक्रियापछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

Online Arthik










