नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे ऋणपत्र जारी गर्न लागेको हो।

उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।

बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ। बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस ऋणपत्रको बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुने छ। आह्वान गरिएको रकमको बाँडफाँड गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर मानिनेछ। सोही एकल ब्याजदरमा उक्त दर र सोभन्दा कम दरमा बोलकबोल गर्ने संस्थालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया