स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आजको कारोबारमा सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले वृद्धि भई ऐतिहासिक उचाइ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि माघ ५ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। उक्त दिन सुनको भाउ प्रतितोला ४२ सय रुपैयाँले बढ्दै २ लाख ८२ हजार रुपैयाँ पुगेको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको हो। आज चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ।
सुन र चाँदी दुवैको मूल्यमा आएको यस ऐतिहासिक वृद्धिले बजारमा लगानीकर्ताको चासो बढाएको छ भने उपभोक्ताहरूमा पनि विशेष ध्यानाकर्षण गराएको छ।

Online Arthik









