हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आम्दानी बढेसँगै नाफामा सामान्य सुधार देखाएको छ । कम्पनीले समीक्षा अवधिमा ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिक्री आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । यस अवधिमा बिक्रीमार्फत १ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १६.२४ प्रतिशतले बढी हो ।
खर्चतर्फ भने कम्पनीका विभिन्न शीर्षकमा वृद्धि देखिएको छ । कर्मचारी सुविधा खर्च १३ करोड ७७ लाख रुपैयाँबाट बढेर १९ करोड ७५ लाख पुगेको छ । त्यसैगरी प्रशासनिक तथा अन्य खर्च ४ करोड ४२ लाखबाट ७ करोड ८५ लाख, बिक्री तथा वितरण खर्च १९ करोड ४८ लाखबाट २८ करोड ७ लाख पुगेको छ । वित्त खर्च भने ६ लाख ५५ हजार रुपैयाँबाट घटेर ६ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ ।
खर्च बढे पनि सञ्चालन मुनाफा सुधारिएको छ । अघिल्लो आवमा ५३ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आवको दोस्रो त्रैमाससम्म ६१ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्तीय अवस्थालाई हेर्दा रिजर्भको आकार ७६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । कुल चालु सम्पत्ति ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ६३ करोड ३० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.८७ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४६.८४ गुणा र तरलता अनुपात ६.१५ कायम भएको छ ।

Online Arthik










