विकास हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको नाफा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ६२ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत उल्लेख्य रूपमा वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको २ करोड ४९ लाख रुपैयाँको तुलनामा १०१.४८ प्रतिशतले बढी हो।

यस अवधिमा कम्पनीको वित्तीय खर्च भने घटेको देखिन्छ। अघिल्लो आवमा २ करोड ३७ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर समीक्षा अवधिमा १ करोड २० लाख रुपैयाँमा सीमित बनेको छ। यस्तै, कम्पनीको कर्मचारी सुविधा खर्च ५१ लाख १५ हजार रुपैयाँ, प्रशासनिक खर्च ३० लाख ४९ हजार रुपैयाँ तथा ह्रासकट्टी खर्च १ करोड ७७ लाख रुपैयाँ रहेको छ।कम्पनीको रिजर्भको आकारमा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो आवमा १ करोड २८ लाख रुपैयाँ रहेको रिजर्भ बढेर समीक्षा अवधिसम्म ६ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.३४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ९६.३१ गुणा तथा तरलता अनुपात ३.९९ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया