आईसीएफसी फाइनान्स लिमिटेडले आगामी फागुन ११ गतेदेखि कुल ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गर्न लागेको हो। निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि बन्द हुनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति प्राप्त गरेको जनाएको छ।

Online Arthik










