दाउन्ने–नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाका अनुसार अहिले दाउन्ने क्षेत्रमा मात्र करिब ३.२ किलोमिटर सडकको रि-पेभमेन्ट (कालोपत्रे) कार्य बाँकी रहेको छ । हालसम्म ९ वटा ठूला र १९ वटा साना पुल निर्माण सम्पन्न भइसकेका छन् भने जेठ दोस्रो हप्तासम्म बाँकी काम सकिने लक्ष्य राखिएको छ । कुल ८.३ अर्ब रुपैयाँ लागत रहेको यस आयोजनामा हालसम्म करिब ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ र कालोपत्रेसँगै ट्राफिक सेफ्टी तथा रोड मार्किङका कामहरू पनि अघि बढिरहेका छन् ।
तर निर्माण अन्तिम चरणमा पुग्दा पनि यात्रुहरूले भने सास्ती खेपिरहेका छन् । पछिल्ला केही दिनदेखिको वर्षाका कारण सडक हिलो र चिप्लो बनेपछि यातायात सञ्चालन प्रभावित भएको छ । विशेषगरी दाउन्ने बजार क्षेत्र आसपास सवारी साधन ढिलो गुड्न बाध्य भएका छन् भने मालवाहक ट्रकहरूलाई उकालो चढ्न समस्या हुँदा हाल एकतर्फी ट्राफिक सञ्चालन गरिएको छ । साना सवारीलाई प्राथमिकताका साथ चलाइए पनि ठूला सवारीलाई पालैपालो सञ्चालन गरिँदै आएको छ ।
निर्माण पक्षले हिलो पन्छाउने र ग्राभेल हाल्ने काम तीव्र पारेको जनाएको छ र मौसम अनुकूल भएमा छिट्टै अवस्था सुधार हुने विश्वास लिएको छ । यता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक अत्यधिक चिप्लो हुँदा सवारी साधन बीचमै रोकिने समस्या देखिएको छ । वर्षा रोकिए पनि लेदो र हिलोका कारण अझै सहज अवस्था नबनेको बताइएको छ ।
निर्माण कार्य सम्पन्न हुन अब केही हप्ता मात्र बाँकी रहेकाले यात्रुहरूलाई धैर्य गर्न, सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन् ।

Online Arthik









