नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आगामी वैशाख १५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजनाका सूचना अधिकारी सञ्जय पन्थी का अनुसार सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ति छनौट प्रक्रिया लगभग पूरा भइसकेको छ। सञ्चालनका लागि एक चिनियाँ कम्पनी चयन गरिसकिएको छ र अब औपचारिक सम्झौता प्रक्रियामा प्रवेश गरिएको छ। सम्झौता सम्पन्न भएपछि कम्पनीले विस्तृत कार्ययोजना र आवश्यक जनशक्तिको विवरण पेश गर्नेछ।

सुरुङमार्ग सञ्चालनका लागि कुल १४८ जनाको दरबन्दी निर्धारण गरिएको छ, जसमा ५ जना चिनियाँ प्राविधिक विज्ञ र १४३ जना नेपाली कर्मचारी रहनेछन्। विदेशी विज्ञहरूले समग्र नेतृत्व, टोल संकलन, सुरुङ सुविधा व्यवस्थापन, सुरक्षा तथा ट्राफिक निगरानी जस्ता पाँच प्रमुख प्राविधिक क्षेत्रको नेतृत्व गर्नेछन्। नेपाली कर्मचारी छनौटमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ भने इन्जिनियर, मेकानिकल, आईटी विज्ञदेखि चालक र सुरक्षा गार्डसम्मका विभिन्न पदहरूका लागि आवश्यक योग्यता तोकिएको छ। छनौट भएका कर्मचारीलाई १५ देखि २० दिनसम्म विशेष तालिम प्रदान गरिनेछ। हाल सुरुङमार्गको भौतिक निर्माण सम्पन्न भइसकेको छ र सञ्चालनसम्बन्धी प्राविधिक तयारी भइरहेको छ, जसअन्तर्गत सम्झौता पश्चात कम्पनीको कार्यतालिका मूल्याङ्कन गरी सञ्चालन प्रक्रिया अगाडि बढाइनेछ।

तपाईको प्रतिक्रिया