नेपाल आयल निगम ले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएर २३७ रुपैयाँ कायम गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरी २५६ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनुका साथै भारतीय तेल निगमबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। मूल्य बढाइएपछि पनि निगमले विभिन्न शीर्षकमा घाटा व्यहोर्नु परिरहेको छ, जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको छ। निगमका अनुसार पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएको छ र लागत तथा बिक्री मूल्यबीचको असन्तुलनका कारण आर्थिक दबाब बढ्दै गएको उल्लेख गरिएको छ।

Online Arthik









