काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक नियम तोड्ने १ हजार ९९४ जना चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२७ चालक कारबाहीमा परेका छन्। त्यस्तै, नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १४२ चालकलाई जरिवाना गरिएको छ। ट्राफिक संकेत बत्ती (सिग्नल) उल्लङ्घन गर्ने १४९ जना र अत्यधिक गतिमा सवारी चलाउने १०३ चालकलाई समेत कारबाही गरिएको छ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने १५८ जना चालक कारबाहीको दायरामा परेका छन्। निषेधित स्थानमा हर्न बजाउने १३० जना, फुटपाथ वा सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जना तथा एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ९५ जनालाई पनि जरिवाना गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने थप ९६२ चालकलाई समेत कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन कायम राख्न नियमित अनुगमन र कारबाही अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

तपाईको प्रतिक्रिया