काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको नियमित निगरानी तथा कारबाही अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ५३५ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार ट्राफिक नियमको पालना गराउन र सडक सुरक्षा प्रभावकारी बनाउन सञ्चालन गरिएको अनुगमनका क्रममा विभिन्न प्रकारका उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरिएको हो। कारबाहीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १०१ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १२९ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने १३८ जना चालक परेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ८१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४१ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना र एकतर्फी सडकमा सवारी चलाउने ११३ जना पनि कारबाहीमा परेका छन्। बाँकी १ हजार ६०९ जना चालकलाई ट्राफिक नियमका अन्य विविध उल्लङ्घनका कारण कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि नियम पालनामा सबै चालकलाई सचेत रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया