काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार ७६ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८, नियमविपरीत राइड सेयरिङ गर्ने १२९, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२६ तथा तीव्र गतिमा सवारी चलाउने १८९ जना रहेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १३९, निषेधित क्षेत्रमा हर्न बजाउने १२४, सडक फुटपाथमा पार्किङ गर्ने ८५, एकतर्फी सडकमा सवारी चलाउने ५९ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १५७ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक नियम उल्लङ्घनबापत गरिएको जरिवानाबाट राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया