संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सम्बन्धी महासन्धिमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/८२ तथा राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/८२ सदनमा पेस गर्नेछिन्।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल गरी अनुमोदन प्रक्रिया अघि बढाइनेछ। साथै, श्रम निरीक्षणसम्बन्धी आईएलओ महासन्धिमाथि सामान्य छलफल तथा अनुमोदनका लागि प्रस्ताव पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Online Arthik










