धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो। समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएसँगै फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम भूगोलमा रहेका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए। उनले दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए। सेवा सञ्चालनका लागि निरन्तर खटिएका नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत उपकरण तथा निर्माण सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा समन्वय र सहकार्य गर्ने बडीमालिकाका जनप्रतिनिधिलाई मन्त्री तिमिल्सिनाले धन्यवाद दिए। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्याउनु टेलिकमको प्राथमिकतामा रहेको बताउँदै व्यावसायिक लाभलाई मात्र आधार नबनाई सञ्चार पहुँच कमजोर रहेका क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिइएको जानकारी दिइन्। बडीमालिका क्षेत्रमा सञ्चार सेवा पुर्याउन सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरेका थिए। सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते तत्काल सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको थियो। नेपाल टेलिकमका अनुसार करिब ४ हजार २३० मिटरको उचाइमा रहेको लौरी विनायक क्षेत्रमा टावर स्थापना गरिएको हो। अत्यन्तै विकट तथा उच्च हिमाली भूगोलमा चुनौतीपूर्ण परिस्थितिका बीच प्राविधिक टोलीले टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो। बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम रहे पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले महत्वपूर्ण भएकाले बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रमा पुग्ने तीर्थयात्री र पर्यटकका लागि मोबाइल तथा इन्टरनेट सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Online Arthik









