लगातारको वर्षाका कारण झन्डै तीन महिनादेखि अवरुद्ध पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ। समिट एयरले सोमबारदेखि नियमित उडान थालेपछि मुस्ताङ जाने पर्यटक तथा तीर्थयात्रीको आवागमन बढ्न थालेको हो।
सेवा पुनः सुरु भएको पहिलो दिन समिट एयरले पोखराबाट तीन उडान गरेको थियो। ती उडानबाट ४३ जना भारतीय तीर्थयात्री जोमसोम पुगेका छन् भने तीन जना यात्रु मुस्ताङबाट पोखरा फर्किएका छन्। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीले समय बचतका लागि हवाई यात्रालाई बढी रोज्ने गरेका छन्। सोमबार नै काठमाडौं हुँदै विभिन्न वायुसेवा कम्पनीका आठ हेलिकोप्टरसमेत मुक्तिनाथ पुगेका थिए। हवाई सेवा र हेलिकोप्टरमार्फत यात्रु आवागमन सुरु भएसँगै वर्षायाममा सुस्ताएको मुस्ताङको धार्मिक पर्यटन पुनः सक्रिय हुन थालेको देखिएको छ।तर, जोमसोममा नियमित उडानको निश्चित तालिका भने सार्वजनिक भइसकेको छैन। तारा एयरले पनि आफ्नो नियमित उडान तालिका घोषणा गरेको छैन। विमानस्थलका अनुसार मौसम र यात्रुको मागलाई हेरेर उडान सञ्चालन गरिनेछ।जोमसोम विमानस्थलमा वर्षभरि नियमित हवाई सेवा सञ्चालन गर्न मौसम मुख्य चुनौतीका रूपमा रहेको छ। वर्षायाममा वर्षा र कम दृश्यताका कारण उडान रोकिँदै आएको छ भने हिउँदमा पनि प्रतिकूल मौसमले उडान प्रभावित गर्ने गरेको छ। पोखरा–जोमसोम रुटमा ट्विनअटर विमान सञ्चालन हुने भएकाले मौसम सामान्य रहेको अवस्थामा प्रायः बिहान उडान गरिन्छ।
नियमित उडान रोकिएको अवधिमा पनि आपत्कालीन तथा चार्टर उडान भने आवश्यकताअनुसार हुँदै आएका थिए। नेपाली सेनाले समेत मुस्ताङमा सामग्री ढुवानी र चार्टर उडान गर्दै आएको छ।

Online Arthik










