जास्मिन पेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ८७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ। कम्पनीका अनुसार यो आम्दानी वार्षिक आधारमा करिब ४० प्रतिशतले बढेको हो भने पछिल्ला ६ वर्षयताकै उच्च सञ्चालन आम्दानी पनि हो।
गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २३.३३ प्रतिशतले बढी हो। त्यसअघि आव २०८०/८१ मा ६७ करोड ७० लाख, २०७९/८० मा ६२ करोड २० लाख, २०७८/७९ मा ७४ करोड ६० लाख र २०७७/७८ मा ६५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।देशभर विस्तार हुँदै गएको रिटेलर तथा डिलर सञ्जालका कारण व्यापार निरन्तर बढिरहेको कम्पनीको भनाइ छ। पछिल्ला चार आर्थिक वर्षमा कुल बिक्रीमध्ये शीर्ष १० डिलरको हिस्सा १३ देखि १५ प्रतिशतको हाराहारीमा रहेको छ। यद्यपि सञ्चालन नाफा मार्जिन भने गत वर्षको २१ प्रतिशतबाट घटेर चालु आर्थिक वर्षको ९ महिनामा १७ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ।
सन् १९९४ मा स्थापना भएको जास्मिन पेन्ट्सले चितवनको भरतपुरस्थित उद्योगबाट वार्षिक १८ हजार ३४१ मेट्रिक टन उत्पादन क्षमता रहेको प्लान्टमार्फत इन्टेरियर, एक्स्टेरियर, मेटल, वुड तथा वाटरप्रुफ पेन्ट उत्पादन गर्दै आएको छ। अप्रिल २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ।कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ। यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको कम्पनीले जनाएको छ।जास्मिन पेन्ट्समा मुख्य रूपमा अर्याल परिवारको लगानी रहेको छ। मधुसुधन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगत अर्यालको १३ प्रतिशत तथा सङ्गीता अर्यालको ९ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको अध्यक्षका रूपमा सङ्गीता अर्याल कार्यरत छन्।
कम्पनीका अनुसार मूल्य प्राप्तिमा सुधार, ऋणभारमा कमी, अनुकूल ब्याजदर तथा लाभांश वितरणपछि पनि सकारात्मक नगद प्रवाह कायम रहेकाले वित्तीय अवस्था थप सुदृढ बनेको छ। लगातारको नाफा र राइट्स सेयर निष्कासनले पुँजी आधार मजबुत भएको तथा प्रस्तावित आईपीओपछि पुँजी संरचना अझ बलियो हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। यद्यपि उच्च मौज्दात र उठ्न बाँकी रकमका कारण कार्यशील पुँजीको आवश्यकता अझै उच्च रहे पनि अघिल्लो वर्षको तुलनामा यसमा सुधार आएको कम्पनीले जनाएको छ।

Online Arthik










