सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमितलाई कुल ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको जनाएको छ।
कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएको हुलदंगा, तोडफोड तथा आगजनीबाट पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिको बीमा दाबीबापत मात्रै ३ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको छ। यसबाहेक अन्य विभिन्न बीमा दाबीबापत २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीमा कुल १७ हजार ६६४ वटा बीमा दाबी दर्ता भएकोमा १७ हजार ८७६ वटा दाबी फर्छ्योट गरिएको कम्पनीले जानकारी दिएको छ। यसले दाबी व्यवस्थापन र समयमै भुक्तानीप्रतिको कम्पनीको प्रतिबद्धता झल्किने जनाएको छ।
कम्पनीले राष्ट्रभरका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी यथाशीघ्र फर्छ्योट गरी बीमितको हित संरक्षणमा आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ। साथै, भुक्तानी हुन बाँकी रहेका दावीकर्तालाई आवश्यक कागजात छिटो उपलब्ध गराई दाबी फर्छ्योट प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेको छ।

Online Arthik










