बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठन गरेका थिए। तर सरकार गठन हुँदाको राजनीतिक समीकरण परिवर्तन भएपछि मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन चुनौती थपिएको छ।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ। मुख्यमन्त्री नियुक्त हुँदा थापालाई ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। तर राप्रपाका सांसद उद्धव थापालाई पार्टी सदस्य तथा प्रदेशसभा सदस्यबाट कारबाही गरिएको र अन्य तीन सांसदविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएपछि राजनीतिक अंकगणित थप जटिल बनेको छ।
हाल मुख्यमन्त्रीको पक्षमा नेकपा एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका २६ गरी ५१ सांसद देखिन्छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ भने राप्रपाका १२ सांसदले पनि विपक्षमा मतदान गर्ने अवस्था छ। ११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसद कायम छन् र मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५३ मत आवश्यक पर्ने देखिन्छ।
आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। प्रस्तावमाथि सांसदहरूले धारणा राखेपछि मतदान हुने कार्यसूची छ। प्रदेशसभा सभामुखविहीन रहेकाले उपसभामुख अप्सरा चापागाईंले बैठकको अध्यक्षता गर्नेछिन्। संविधानको धारा १८६ अनुसार बैठकको अध्यक्षता गर्ने उपसभामुखले मतदान गर्न नपाउने भएकाले विश्वासको मतको अंकगणित थप पेचिलो बनेको छ।
बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। राप्रपा विपक्षमा पुगेसँगै मुख्यमन्त्री थापाको सरकार अल्पमतमा पर्ने जोखिम बढेको छ। आजको विश्वासको मतले सरकारको निरन्तरता वा नयाँ राजनीतिक समीकरण बन्ने बाटो तय गर्नेछ।

Online Arthik










