जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले छोटो समयमै पुनरुत्थानको संकेत देखाएको छ। क्षतिग्रस्त ११ बिक्री केन्द्रमध्ये ६ वटा पुनः सञ्चालनमा आइसकेका छन् भने सञ्चालनमा आएका स्टोरको मासिक आम्दानी आन्दोलनअघिको अवस्थासँग धेरै हदसम्म समान रहेको कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा आन्दोलनको प्रभावका कारण कम्पनीको सञ्चालन आम्दानी २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँमा सीमित भए पनि दीर्घकालीन व्यवसायिक अवस्था भने बलियो रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।आन्दोलनका क्रममा करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति भए पनि त्यसको ठूलो हिस्सा बीमाबाट पूर्ति हुने अपेक्षा गरिएको छ। करिब ६ अर्ब रुपैयाँको मौज्दात र ३ अर्ब रुपैयाँको भवन तथा अन्य सम्पत्तिमा क्षति पुगेकोमा मौज्दाततर्फको ठूलो हिस्सा बीमा रकमबाट व्यवस्थापन हुने कम्पनीको विश्वास छ। कम्पनीले बाँकी क्षतिसमेत आफ्नै वित्तीय स्रोतबाट व्यवस्थापन गर्न सक्ने जनाएको छ। साथै, ऋण भुक्तानी तालिका पुनर्संरचना भएकाले तत्कालको दबाब व्यवस्थापनमा सहजता भएको छ। क्षतिग्रस्त बाँकी स्टोरलाई पनि सन् २०२६ भित्र क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।लामो समयदेखि नेपाली संगठित खुद्रा बजारमा स्थापित भाटभटेनीको प्रमुख शहरी क्षेत्रमा बलियो बजार उपस्थिति रहेको छ। काठमाडौं, पोखरा र चितवनबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा आउने गरेको छ। बढ्दो शहरीकरण, उपभोक्ताको क्रयशक्ति वृद्धि र विप्रेषणका कारण नयाँ तथा अर्धशहरी बजारमा समेत व्यवसाय विस्तारको सम्भावना उच्च रहेको देखिन्छ।

यसरी, ठूलो क्षतिपछि पनि अधिकांश स्टोर पुनः सञ्चालनमा आउनु, कारोबार पुरानै स्तरमा फर्किन थाल्नु र बीमाबाट क्षतिपूर्ति प्राप्त हुने अपेक्षाले भाटभटेनीको व्यवसायिक पुनरुत्थानप्रति सकारात्मक आधार तयार भएको छ। कम्पनीले आगामी दिनमा स्टोर पुनःस्थापना र बजार विस्तारलाई निरन्तरता दिने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया