त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाबाट धादिङ, रसुवा र चितवन जाने सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।

चीनतर्फबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ बढिरहेको र यसले नदी आसपासका सडक तथा बस्तीमा जोखिम निम्त्याउन सक्ने भएकाले ट्राफिक प्रहरीले सतर्कता अपनाएको हो। नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधनलाई हाल उपत्यकाभित्रै रोकिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था सामान्य नभएसम्म ती जिल्लातर्फ यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। बाढीको अवस्था र सडकको सुरक्षा मूल्याङ्कन गरेर मात्रै सवारी सञ्चालनबारे निर्णय गरिने उनले बताए।

प्रहरीले यातायात व्यवसायीलाई पनि धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक यातायात नचलाउन आग्रह गरेको छ। नदीको बहाव घट्ने तथा सडक सुरक्षित रहेको यकिन भएपछि मात्रै आवागमन खुलाइने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया