आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्सबीच क्रिकेट खेलको विकास, खेलाडीको वित्तीय सुरक्षा तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ। सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार जनकपुर बोल्ट्ससँग आबद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीको खेल अवधिमा आवश्यक बीमा गरिनेछ। साथै, क्लब र यससँग आबद्ध व्यक्तिहरूको बीमा पनि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिने जनाइएको छ।
सम्झौताले खेलाडीको सुरक्षा, मनोबल अभिवृद्धि तथा नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिमा कम्पनीले गर्दै आएको सहभागितालाई निरन्तरता दिने बताए। उनले जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता जनाए।
त्यस्तै, जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले खेलाडीको विकासमा सहयोग गरेकोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स परिवारप्रति आभार व्यक्त गरे। उनले यस सहकार्यले खेलाडीको मनोबल बढाउनुका साथै क्लबको दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

Online Arthik










