शशिला मोटर्स प्रालिले आयोजना गरेको चारदिने निःशुल्क विद्युतीय सवारीसाधन (ईभी) सर्भिस क्याम्प सम्पन्न भएको छ । काठमाडौंको कलंकी मैत्रीनगरस्थित शशिला सर्भिस सेन्टरमा सञ्चालित क्याम्पबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन् ।

नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको शशिला सर्भिस सेन्टर आधुनिक प्रविधि तथा सुविधासम्पन्न पूर्वाधारसहित सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । सेन्टरमा २० वटा सर्भिस बे र ३० भन्दा बढी दक्ष प्राविधिकमार्फत ईभी सर्भिसिङ सेवा प्रदान हुँदै आएको छ । कम्पनीका अनुसार सेन्टरमा उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्रसमेत रहेको छ । यहाँ विद्युतीय सवारीसाधनमा देखिने सामान्यदेखि जटिल समस्यासम्मको समाधान उपलब्ध गराइँदै आएको छ ।शशिला सर्भिस सेन्टरका सर्भिस हेड बिन्देशमान सिंह डंगोलले ईभीको प्रभावकारी सर्भिसिङबारे बहस भइरहेका बेला आयोजित क्याम्पले ग्राहकको बिक्रीपछिको सेवा र विश्वसनीयताप्रतिको भरोसा थप मजबुत बनाउन सहयोग गरेको बताए ।ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले दशैं बिदा तथा शनिबारसमेत सर्भिस सेन्टर खुला रहने जानकारी उनले दिए ।त्यस्तै, शशिला मोटर्स प्रालिका निर्देशक सचिन कायस्थले कम्पनीको प्राथमिकता विद्युतीय सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पारे । बिक्रीपछिको सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा सेवाको प्रभावकारिता र गुणस्तर थप अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ईभी प्रयोगकर्तालाई सहज, विश्वसनीय र गुणस्तरीय सर्भिसिङ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको क्याम्पले ग्राहक सेवाप्रति कम्पनीको प्रतिबद्धता उजागर गरेको छ ।

तपाईको प्रतिक्रिया