केबीएल सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ९४) ले दोस्रो बजारका लगानीकर्तालाई लक्षित गर्दै ५ करोड रुपैयाँसम्मको मार्जिन कारोबार सुविधा ल्याएको छ। कम्पनीले लगानीकर्ताको शेयर खरिद क्षमता बढाउँदै दोस्रो बजारमा उपलब्ध लगानीका अवसरको अधिकतम उपयोग गर्न यस्तो सुविधा ल्याएको जनाएको छ। कम्पनीका अनुसार लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याजदरमा मार्जिन कारोबार सुविधा लिन सक्नेछन्। यस सुविधाअन्तर्गत लगानीकर्ताले स्वीकृत सीमाको सम्पूर्ण रकममा नभई वास्तविक रूपमा उपयोग गरेको रकममा मात्र ब्याज तिर्नुपर्नेछ। मार्जिन कारोबार सुविधा ८ देखि ९४ दिनसम्मका लागि उपलब्ध हुनेछ भने एक लगानीकर्ताले अधिकतम ५ करोड रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले यो सुविधाले लगानीकर्तालाई थप वित्तीय लचकता प्रदान गर्नुका साथै सीमित पुँजीबाट दोस्रो बजारमा शेयर खरिद गर्ने क्षमता बढाउन सहयोग गर्ने अपेक्षा गरेको छ। विशेषगरी बजारमा लगानीका अवसर देखिएका बेला तत्काल थप वित्तीय स्रोत परिचालन गर्न चाहने लगानीकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीको विश्वास छ। यद्यपि, मार्जिन कारोबारमा ब्याज खर्च र शेयर मूल्यमा हुने उतारचढावको जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो वित्तीय क्षमता र जोखिम वहन गर्न सक्ने अवस्थालाई ध्यान दिनु आवश्यक हुन्छ।

तपाईको प्रतिक्रिया