सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ। यससम्बन्धी सम्झौता दुवै कम्पनीबीच सम्पन्न भएको छ।
सम्झौताअनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन हुन लागेको उक्त सेयरको कुल १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा पाँच मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीका अनुसार उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, म्युचुअल फण्ड व्यवस्थापन, डिपोजिटरी सेवा, सेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायत सेवा प्रदान गर्दै आएको छ। कम्पनीका विभिन्न सेवाहरू गरिमा विकास बैंकका शाखामार्फत समेत उपलब्ध गराइँदै आएको जनाइएको छ।

तपाईको प्रतिक्रिया