नबिल बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि सुरु भएको यो सेवा बैंकको एनबैंक एपमार्फत प्राप्त गर्न तथा प्रयोग गर्न सकिनेछ।
बैंकका अनुसार ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र झन्झटबिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाई नाउ’ विकल्पमार्फत आवेदन दिन सक्नेछन्। बैंकको आन्तरिक तथ्याङ्कमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहकलाई पूर्वस्वीकृति दिइएको छ। त्यस्ता ग्राहकले एपमा स्वतः ‘अप्लाई नाउ’ विकल्प देख्न सक्नेछन्।
पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो कार्डमार्फत ग्राहकले दैनिक डिजिटल भुक्तानी सहज र सुरक्षित रूपमा गर्न सक्ने बैंकले जनाएको छ। विशेषगरी फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने व्यापारिक प्रतिष्ठानमा भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी क्यूआरमा आधारित भुक्तानी गर्न सकिनेछ।
यस सेवाको सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यले डिजिटल भुक्तानीलाई थप सहज बनाउनुका साथै ग्राहकलाई बैंकिङ सेवामा प्रविधिको उपयोगमार्फत नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहककेन्द्रित बैंकिङ समाधान र नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धता दोहोर्‍याए। उनले भर्चुअल क्रेडिट कार्डको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिने तथा ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार वित्तीय सेवा उपलब्ध गराउने प्रयासलाई थप सुदृढ बनाउने बताए।
“ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकताअनुसार ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौँ। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो,” उनले भने।
नबिल बैंकले प्रविधिमैत्री तथा ग्राहकमुखी वित्तीय सेवा विस्तार गर्दै डिजिटल बैंकिङमा आफ्नो भूमिका थप सुदृढ बनाउने जनाएको छ। बैंकका अनुसार देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले एनबैंकमार्फत डिजिटल वित्तीय सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ।

तपाईको प्रतिक्रिया