काठमाडौंका विभिन्न स्थानमा भूमिगत विद्युत् प्रसारण लाइन विस्तार गरिने भएपछि नेपाल विद्युत् प्राधिकरणले आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा पूर्वाधार विस्तारको काम गर्न लागेको हो ।
प्राधिकरणले कात्तिक १३ देखि २० गतेसम्म हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएका क्षेत्रमा विद्युत् कटौती गर्ने जनाएको छ ।प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् सेवा प्रभावित हुनेछ । त्यस्तै, कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म तथा १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती गरिनेछ ।कात्तिक १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । यसैगरी, १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
यद्यपि, मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित कार्यतालिका रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ । भूमिगत लाइन विस्तारका क्रममा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका उपभोक्तालाई सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले आग्रह गरेको छ ।

Online Arthik










