डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको २० करोड २२ लाख रुपैयाँको तुलनामा करिब ८.५ प्रतिशत बढी हो।
संस्थाको सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ११.१५ प्रतिशतले बढेर ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ३५ लाख रुपैयाँ थियो। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ६ करोड ३६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ६५ करोड ७३ लाख रुपैयाँ रहेको छ। संस्थाको सञ्चालन नाफा पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २८ करोड ८४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ।असोज मसान्तसम्म संस्थाको कुल कर्जा तथा सापटी २ अर्ब ८५ करोड ६३ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने ग्राहकबाट संकलित निक्षेप १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। संस्थाको चुक्तापुँजी २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ र सञ्चित तथा जगेडा कोषसहित कुल इक्विटी ४ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ पुगेको छ।समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४२ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ २६ पैसा रहेको छ।
यसैगरी, संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.७० प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७३ प्रतिशत थियो। पहिलो त्रैमासको अन्त्यसम्म संस्थाको वितरणयोग्य नाफा १ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

Online Arthik










