ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु गरेको छ। शुक्रबार आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन्।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवनमा दुई तला भूमिगत पार्किङ, एउटा ग्राउन्ड फ्लोर र नौ वटा माथिल्ला तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला तथा अत्याधुनिक प्रविधि समेटेर भवनलाई काठमाडौँ उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने बैंकको लक्ष्य छ।भूमिपूजा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताउनुभयो। उहाँले नयाँ भवनले बैंकको सेवा प्रवाहलाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही तथा कर्मचारीको सुविधालाई प्राथमिकतामा राखेर पार्किङदेखि भवनको आन्तरिक संरचनासम्म आधुनिक इन्जिनियरिङ प्रयोग गरिने बताउनुभयो। भवनलाई ऊर्जा दक्ष बनाउनुका साथै आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा जडान गरिने उहाँले जानकारी दिनुभयो। यसबाट प्राकृतिक स्रोतको उचित उपयोग र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीहरूको उपस्थिति थियो।आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। यसका अतिरिक्त युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका प्रतिष्ठित सम्मानसमेत प्राप्त गरेको छ।ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ।

Online Arthik










