लक्ष्मी सनराइज बैंक लिमिटेडले मंसिर २५ गते २६औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको ३३३औँ बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१ दशमलव ७३ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले मंसिर १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम भएका सेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

बैंकको २६औँ वार्षिक साधारणसभा मंसिर २५ गते बिहान १० बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बस्नेछ। हाल बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार ४५८ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया