कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले काठमाडौं उपत्यकामा लागू भएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था बुझ्न मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् । उनी ललितपुरको जावलाखेलस्थित निवासबाट आफैं स्कुटर चलाएर काठमाडौंका बालाजु र सीतापाइला पुगेकी हुन् । स्कुटरको पछाडि उनका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सवार थिए ।

मन्त्री चौधरीले बालाजुको भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोरमा पुगेर मासुको भण्डारण, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको अवस्थाबारे निरीक्षण गरेकी थिइन् । उनको अनुगमन भ्रमणबारे सचिवालय सदस्य सरिता चौधरीले जानकारी दिएकी हुन् । गत मंसिर १ गतेदेखि काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले उपत्यकाका तीनवटै जिल्लामा ऐन लागू गरेको हो ।

अनुगमनका क्रममा मन्त्री चौधरीले उपभोक्ताको स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएकी छन् । साथै, मासु व्यवसायीले निर्धारित मापदण्ड र खाद्य सुरक्षा नियम अनिवार्य रूपमा पालना गर्नुपर्नेमा उनले जोड दिएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया