नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि मंसिर ११ गते दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सक्नेछन्। प्रस्तावित रकम १० करोड रुपैयाँले भाग जाने गरी पेस गर्नुपर्नेछ। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिँदै कुल आह्वान रकमसम्म निक्षेप बाँडफाँट गर्नेछ। समान ब्याजदरमा प्राप्त प्रस्ताव आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ।

यसरी संकलन गरिएको निक्षेप तोकिएको भुक्तानी मितिअघि फिर्ता गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया