नेपालमा हुण्डी कारोबारको स्वरूप परिवर्तन हुँदै बैंक खाता, डिजिटल भुक्तानी प्रणाली, क्रिप्टोकरेन्सी र व्यापारिक कारोबारमार्फत विस्तार हुन थालेको छ। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ : हुण्डी’ अनुसार २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म प्राप्त कुल १५ हजार ८१५ शङ्कास्पद कारोबार प्रतिवेदनमध्ये एक हजार ६७२ वटा अर्थात् १०.५७ प्रतिशत हुण्डीसँग सम्बन्धित छन्। हुण्डीसम्बन्धी प्रतिवेदनमध्ये वाणिज्य बैंकबाट मात्रै एक हजार ५०३ वटा प्राप्त भएका छन्, जुन कुलको ८९.८९ प्रतिशत हो। प्रतिवेदनअनुसार हुण्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिको संलग्नता बढी देखिएको छ। अध्ययनमा समेटिएका व्यक्तिमध्ये ६५.५ प्रतिशत यही उमेर समूहका छन् भने ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन्। पेसागत आधारमा व्यवसायीको हिस्सा ५१.५ प्रतिशत रहेको छ। भौगोलिक रूपमा मधेश प्रदेश सबैभन्दा अगाडि देखिएको छ, जहाँ अध्ययनमा समेटिएका व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत सम्बन्धित छन्। जिल्लागत रूपमा सिरहा पहिलो स्थानमा छ भने सप्तरी, सुनसरी, धनुषा र महोत्तरी पनि बढी जोखिम देखिएका जिल्लामा छन्। व्यावसायिक क्षेत्रतर्फ खुद्रा व्यापारीको हिस्सा ४३ प्रतिशत र विप्रेषण कारोबारमा संलग्न सबएजेन्टको हिस्सा ४१.५ प्रतिशत रहेको छ। त्यस्तै, अध्ययनमा समेटिएका करिब ४० प्रतिशत शङ्कास्पद कारोबार प्रतिवेदन बैंक खाता खोलेको एक वर्षभित्रै भएका कारोबारसँग सम्बन्धित छन्। प्रतिवेदनले अरूका नाममा खोलिएका बैंक खाता प्रयोग गर्ने, रकमलाई साना भागमा विभाजन गरी जम्मा गर्ने, व्यापारिक कारोबारको आवरणमा रकमको स्रोत लुकाउने तथा भर्चुअल सम्पत्तिमार्फत हिसाब मिलान गर्ने प्रवृत्तिलाई प्रमुख जोखिमका रूपमा औँल्याएको छ। नेपालमा हुण्डीसम्बन्धी अनुसन्धान पनि बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा १८ वटा रहेको अनुसन्धानको सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा बढेर ६० पुगेको छ। पछिल्लो पाँच वर्षमा हुण्डीसम्बन्धी अनुसन्धान तथा कारबाहीका क्रममा २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ जफत गरिएको प्रतिवेदनमा उल्लेख छ। यसले हुण्डी कारोबार व्यक्तिगत गतिविधिमा मात्र सीमित नरही संगठित सञ्जालमार्फत विस्तार हुन सक्ने जोखिम देखाएको छ।


Online Arthik










